यसभन्दा पहिले कहिल्यै युगल गीत लेखेँ झैँ लाग्दैन । आज खै किन पो हो युगल गीत लेख्नमा ध्यान गयो । वर्तमान नेपाली समाजमा खासगरि शहरमा; प्रेम गर्नु र विछोडमा पर्नु सामान्य भएको छ । यही पृष्ठभूमीमा एउटा गीत । शब्द भरखर लेखेँ । आफैँलाई राम्रो लाग्यो भने कुनै क्षण संगीत पनि हुने नै छ ।
गायक-
भन केही भन्न खोजे झैँ देखिन्छ्यौ
कलकलाउँदो वैँशमै उदास किन छ्यौ ?
गायिका-
खाली छु हजूर, म त फेरि खाली
बेइमानीले वाचा तोड्यो यसैपाली
जीवनभरको साथ भन्ने गर्थ्यो पलपल
सायद कोही भेट्यो कलकलाउँदी निर्झर
गायक-
सम्बन्ध भनेकै बन्नु, भत्किनु हो
एउटा नै त टुट्यो फेरि गाँसे भैगो
टुट्दै उठ्दा मान्छे केही नयाँ सिक्छ
सम्हालेर सपना फेरि बुने भैगो
गायिका-
हिजो सुम्पेको यो, काया बिटुलो रे
कुरा काट्दै हिँड्ने भीड बीच म छु
कसरी बुनौँ खै फेरि नौला सपना
छियाछिया मनले आफैँ टुक्क्रेकी छु
गायक-
मन चोखो छ भने काया नीलो दह
अँजुलीमा भर्दै छु पिउन तयार म
न बहकिने वाचा तिमी आज बाँध
जीवनभरको साथ छु दिन तयार म
गायिका-
फेरि उस्तै वाचा सुन्दा डर लाग्छ
जीवनभरको साथ भो भो चाहिँदैन
म खेल्न तयार छु मनको चोखो खेल
विन्ति छ झेली गर्न पाइँदैन
(यो गीत, मेरो बाल्यकालको भोगाईको अनुभवबाट सिर्जना भएको हो । त्यसो त केहीवर्ष स्कुलका स-साना बालबालिकाहरूलाई अध्यापन गरेको अनुभव पनि यसमा मिसिएको छ नै ।)
हिउँखोलाको पानी छुनै नहुने
लेकको भिरालो बाटो हिंड्नै नहुने
याकको गलामा लाएको
घण्टी त बज्छ टिङ् टिङ्
हाम्रो त लेकमा मधुरो घाम
सधैँ पानीको रिमझिम
बादल आई छानामा
गर्दछ सधैँ छामछुम्
मादल चिसोले ओसिन्छ
डम्फू चैँ बज्छ धुम् धुम्
आङालाई अक्षर थाहा छैन
‘क’बाट के के लेखिन्छ
छिरिङलाई सधैँ पाखामा
घाँसको भारीमा भेटिन्छ
यो गीतको पहिलो रेकर्डिङमा स्कुले नानीहरू र गायिका पवित्र सुब्बाको स्वर रहेको थियो । पछि पवित्रको स्वरमा मात्र पनि रेकर्ड भयो । यसलाई वाद्यवादनमा अझै परिमार्जन गर्ने सोच छ । आफ्नै स्टुडियो हुँदा रेकर्ड गरेकोले पवित्रको स्वर छुट्टै ट्रयाकमा पनि छ रहेछ !
यो सुनसान चिहानको गीत
ऊ, जो मर्यो
झुक्दै नझुकी मर्यो
धर्तीको तारा झर्यो
उसकै चिहानको गीत
यो सुनसान चिहानको गीत
फर्कि हेर चिहानमाथि
फूलहरू फुलेका छन्
सुनी हेर चिहान छेउमा
गीतहरू गुञ्जेका छन्
गुञ्जिरहेछन् गीत
धर्तीका अमर प्रीत
यो सुनसान चिहानको गीत ।
०४३, पुस ५
काठमाण्डौ
साभार: भूगोलमाथि उभिएको जैतुन (पृष्ठ, ३८; कविता सङ्ग्रह)
स्त्री देह, श्वेत पर्वत, सुकिला जाँघ
तिमी दुरुस्त भूगोल जस्ती, समर्पणमा लम्पसार
मेरो रुखो किसान देह घुस्रन्छ तिमीमा
र धरतीको गहिराईबाटै मार्छ एक वंशवृक्षी छलाङ्
एक्लो थिएँ म एउटा सुरुङ झैँ, चराहरू उड्थे मभित्र
र रात डुबाउथ्यो मलाई उसको विजयोन्मुख आक्रमणले
आफूलाई जोगाउन मैले, तिमीलाई अर्जापेँ हतियार झैँ
मानौं तीर मेरो धनुषको, मट्याङ्ग्रो मेरो गुलेलीको
तर प्रतिशोधको समय स्खलित हुन्छ जब, म तिमीलाई प्रेम गर्छु
लेउयुक्त चिप्लो हरियो छालाको, खँदिलो बेचैन अंग दुहुन्छु म
अहो ! ती गोलाकार बक्ष, अहो ! ती टोलायमान नयन
अहो ! ती यौवनका गुलाब, अहो ! सुस्त र उदास आवाज
देह ! मेरी प्रिया ! म तिम्रो सुन्दरतामा हुनेछु निरन्तर उपस्थित
मेरो तिर्खा, मेरो अनन्त इच्छा, मेरो क्रमभंग राजमार्ग
अँध्यारो नदी-किनार, जहाँ बहन्छ अनन्त तिर्खा
र बहन्छ थकान, अनि अन्नत पीडा ।
अनुवाद: आभास (हिन्दी र अँग्रेजी दुबैको अल्पज्ञानलाई मिसाएर)