भानु जयन्तीकै दिन थियो सायद, एकजना मित्रले प्रश्न गरे-
नेपालका अरु नेपाली मातृभाषाहरूलाई भानुभक्तको कारण मार्ने काम त गरिएको छैन ?
उनको प्रश्नपछि मनमा अनेकौं तर्कना चले । यसलाई चेतनाको जागरण भनेर मानौं कि ? समाज विकासक्रमप्रतिको असन्तुष्टि ? यथार्थबोधपछिको अभिव्यक्ति मानौं कि ? दमित विद्रोहको हुँकार ? दोधार, तीनधार, अनेकौंधारमा परेँ । तत्समय त मौन नै रहेँ । किनभने यस्तो विषय मेरो मूल विषय थिएन र होइन नै पनि । फेरि लागेको नबोल्नु कुण्ठा हो । कुण्ठित हुन चाहिनँ । केहीवर्ष पहिले फैजको उर्दू गजलमा रहेको कम्पोजिसन सुनाउनु पहिले मञ्चबाटै भनेको स्ववचन सम्झेँ- ‘मलाई आउने भए संसारभरका भाषामा गाउँने थिएँ, म संसारभरकै भाषालाई प्रेम गर्छु।’ त्यो नितान्त व्यक्तिगत चिन्तन नै थियो । त्यसमा मानवीय उदारभाव (माफ पाऊँ ! आत्मरति पो भयो कि !) या विशाल लोकप्रियताको लोभ जे थियो भने पनि हुन्छ । तर ती मित्रको आजको प्रश्नले औल्याउन खोजेको पाटो भने त्यति सहज लागेन भनौं ।
यही प्रसंगले होला नेपाल बाहिरका नेपालीभाषीहरूलाई सम्झेँ । यस भाषाप्रतिको तिनको लगाब र मोह सम्झेँ । खासगरि दार्जिलिङ, सिक्किम, भुटान, अझ भनौं सम्पूर्ण उत्तरपूर्वी भारतमा रहेका विभिन्न जात र थरका नेपालीले किन नेपालीभाषा नै अपनाएका होलान् ? प्रश्नै प्रश्नको भूमरीमा परेँ र प्रश्नकै चाङमा अनेकौं प्रश्न थुरिए । म तिनमै रुमल्लिन थालेँ ।
सत्ताले लादेर मात्र भाषा चल्ने हो भने, दार्जिलिङमा बंगालीभाषा किन स्थापित हुन सकेन होला ? ईन्द्र बहादुर राई, अम्बर गुरुङ र अगम सिं गिरीको पुस्ताले नेपालीभाषाको उत्थाननिम्ति किन आन्दोलन चलाए हुन् ? कर्म योञ्जन, शान्ति ठटाल, गोपाल योञ्जन, अरुणा लामा, कुमार सुब्बा, मणिकमल छेत्री, दावा ग्याल्मो, बद्रीदुर्गा खरेल, पेमा लामा, डेजी बराइली लागायतको अनगिन्ती नामका लस्करले किन यही नेपालीभाषाको उचाई थप्दै हिंडेका हुन् ?
सिक्किममा सन् १९७० सम्म त राजा पाल्देन थोन्दुप नाम्ग्याल नै थिए रे । उनको सत्ताले तिब्बती मूलको भुटियाभाषालाई स्थापित गर्न किन नसकेको होला ? नेपालमा रहेकाजस्तै अधिकांश जनजातिहरुको बाहुल्यतारहेको सिक्किमले किन नेपालीभाषालाई आफ्नो भाषाको रुपमा अँगालेको होला ? त्यहाँका नेता पवनकुमार चाम्लिङ किन नेपालीमा कविता, गीत कोर्न उत्सुक भएका होलान् ? यसरी थुरिएका प्रश्नसितै सिक्किमका गाउँ कुनादेखि उत्तरपूर्वमा घुम्दा देखेका थेप्चे आकृतिका भानुका अनेकौं शालीक पनि सम्झदै हुन्छु । प्रश्नको ओइरो भने रोकिँदै रोकिन्न !
भुटानका वाङचुक खलकलाई नेपाली नबोली धर नपाइने अवस्था किन आएको होला ? त्यहाँका नेपालीले जोङ्खाभाषा अपनाएर ढुक्क हुनुको साटो किन नेपालीभाषाको प्रेममा फसेर ‘शरणार्थी’ हुन नेपाल आइपुगेका होलान् ? गीतका मूर्च्छनामा डुब्न पाउनु पर्ने प्रताप सुब्बाले किन गायक हुन नपाइ राजनीतिको असफल नायक हुँदै शरणार्थी हुन वाध्य बन्नु परेको होला ? मणिपुरका गायक शान्तनुकुमार लिम्बु, मणिपुरेभाषामै नगाएर किन नेपाली भाषामा गीत गाउँछन् अझै ? आसाम डिग्बोईका कलाकार जे. वी. रानालाई मैले दुईवर्ष पहिले उतै पुगेर सोधेथेँ- ‘काका हजूरलाई मगरभाषा आउँछ कि आउँदैन ?’ तिनले मेरा सामु उल्टै प्रतिप्रश्न तेर्साउँदै झण्डै कुटौंला झैँ गरेथे- ‘किन तिमीलाई हामी यताकालाई नेपालीभाषी नै हुन् भन्न गाह्रो लाग्यो ? तिम्रोमा के के बोलिन्छ जोगाऊ, त्यो तिमीहरूको काम हो, हामी यताकालाई नेपालीभाषा नै काफी छ ।’ म झण्डै रोएथेँ । उतैकी मीरा थापा, बंगाली भाषामा पोख्त । पढाउँछिन् पनि बाङ्ला । तर गाउँने प्रयत्न गर्छिन् नेपालीमा । किन ? सिलोङका महाप्रसाद गुरुङ उतैको परिवेशमा स्थापित भएको आधा शताब्दीभन्दा बढी भयो । तिनलाई किन उहिले भेटेका अम्बर गुरुङ र धर्मराज थापाका नेपाली गीत र सम्झनाले सताइरहन्छ ? भाग्सुका मित्रसेनले भारतीय सेनाको जागिर त्यागेर किन नेपालीभाषाकै गायन र प्रचारमा आफ्नो पूरै जीवन अर्पेका होलान् ?
यी त उताका नेपालीभाषीको परिवेश देखेर थुरिएका प्रश्न !
यता पनि यसो निहार्छु- सुप्रसिद्ध गायक नारायण गोपालले मेरा आदरणीय गुरु गिरिजाप्रसाद जोशीका एक, दुईवटा नेवारी गीतमा संगीत भरेका रहेछन् (त्यो पनि नारायण गोपालको अवशानपछि खुलेको कुरा !) त्यस बाहेक यिनले किन नेवारीमा गीत नगाएका होलान् ? प्रेमध्वज पनि त नेपालीभाषाकै गायकको रुपमा स्थापित भए । नातिकाजी, फत्तेमान, शिवशंकर, योगेश वैद्य, भीम विरागदेखि लिएर अहिलेको नयाँ पुस्तासम्म मतृभाषा फरक भएका तर नेपालीभाषाकै माध्यमबाट स्थापित अनगिन्ती व्यक्तित्वका उच्चशृंखलाहरु निर्माण भएका छन् । यो क्रम पूर्वी भोजपुरका राईदेखि लिएर पश्चिम डोटीका डोट्यालीसम्म र मिथिलाका झादेखि लिएर उत्तरका शेर्पासम्म निरन्तर नै छ । म त ठान्छु- यसरी नेपालीभाषा बिस्तार हुनुमा भानुलगायत ती अनेकौं नेपालीहरुको सामुहिक योगदान रहेको कुरा वर्तमानसम्मको जिउँदो यथार्थ हो । नेपाली अब कुनै जात विशेषको भाषा मात्र पनि त होइन ! यो त सारा नेपालीको हक लागिसकेको भाषा हो ।
यस्तो अवस्थामा तिनले सोधे- ‘नेपालका अरु नेपाली मातृभाषाहरूलाई भानुभक्तको कारण मार्ने काम त गरिएको छैन ?’ उनको संकेत विगतका सत्ताहरूतिर होला सायद । सुदूर विगतदेखिका केही सत्ताले अन्य मातृभाषालाई दुत्कारेका पक्कै हुन् । त्यसमा कुनै शंका छैन । तर त्यही कारणले मात्र नेपालीभाषा स्थापित भएको हो भन्नु चाहिँ नकारात्मक सोचतिर उन्मुख हुने कुरा हो कि, भन्ठान्छु म त ।
अस्ति साझँ पोखरेली दाइ, कवि तीर्थ श्रेष्ठसित थिएँ । उहाँसितका भेटमा चिन्तनका अनेकौं पहराहरू चढ्ने यत्न हुन्छन् । भाषाका विषयमा कुरा निस्केपछि भन्नुभयो- ‘विगतका सत्ताले अरु भाषालाई बेवास्ता गरेर तिनमा रहेका सुन्दरतालाई सखाप पार्ने काम त गरे नै, तिनको त्यही क्रियाकलापले नेपालीभाषाको विकासको दायरा पनि साँघुरो भयो ।’ तीर्थ दाइको तर्कमा मैले गजबको उज्यालो देखेँ ! उहाँले थप्नुभयो- ‘अरु भाषालाई प्रोत्साहन गरेर आम जनमानसमा फैलाएको भए नेपालीभाषामा हाम्रा अरु भाषाका सुन्दर कुराहरू पनि भित्रने थिए र हाम्रो नेपालीभाषा आजभग्दा अझै धनी हुने थियो ।’ तीर्थ दाइजस्तै सोचमा सकारात्मक उज्यालो बोकेका हामी कति छौं होला यहाँ ?
निकै पहिलेको अर्को सम्झना पनि सान्दर्भिक होला- ‘थँहितीमा बस्थेँ । बालगीतहरूको एलबम निकाल्ने तयारीमा थिएँ । आदर गर्दै आएका एकजना मूर्धन्य गीतकारलाई निदरीगीत (lullaby) लेखिदिन आग्रह गरेँ । उहाँले आफू ‘नेपालभाषा’ अथवा नेवारीभाषाको गीतकार भएकोले नेपालीभाषामा गीत लेख्न असमर्थ भएको उत्तर दिनुभयो । उही बखत, उहाँकै केही नेपाली गीत सम्झँदै अनुहार अमीलो बनाउनु बाहेक केही उपाय सुझेन । अमिलो बनिएँ र फर्किएँ । तिनै गीतकार कालान्तरमा नेपालीभाषाकै गीतबाट नेपाली जनमानसमा असाध्य लोकप्रिय भए । मैले ती आदरणीयको अपमान गर्न यो सम्झना उल्लेख गरेको कदापी नठानियोस् । मैले त यो घटनाबाट आफूले सिकेको कुरा बाँड्न खोजेको मात्र हो । त्यतिबेला उहाँले मलाई दिनु भएको जवाफमा मैले उदारताभन्दा साँगुरोपन अनुभूत गरेथेँ ।
अहिले घोत्लन्छु- भाषाको विकासमा अनेक तत्वहरू लुकेका हुँदारहेछन् । सर्जक या कलाप्रस्तोता त जातपात र भाषाकै पनि साँघुरो घेराबाट ठूलो परिवेशको खोजिमा निस्केका यात्री पो रहेछन् त ! भला तिनको सिर्जनाकर्मले सम्बन्धित भाषाको घेरा फैलँदै गएको त हुन्छ नै । स्वभाविकै हो । तर के एउटा भाषामा लोकप्रिय कविको उत्पत्ति हुनुले अर्को भाषाको हत्या नै हुन्छ र ? बन्ने प्रक्रृया बिस्तारै हुन्छ । चाहे त्यो जीवन होस्, भाषा होस्, संगीत होस्, समाज होस् या देश । नेपाली समाज, देश र भाषा त्यसैगरि लामो समय चक्रमा आवस्यकता, सिर्जनशील चिन्तन र परिस्थितिबाट बनेका हुन् । यही क्रममा सबै नेपालीहरूलाई एकआपसमा गाँस्ने क्षमता राख्ने सरल भाषा बन्यो नेपाली । यहाँसम्म आइपुगेको यही नेपालीभाषाको सहायताले नै मात्र अब हाम्रा अन्य मातृभाषाहरुको उत्खनन र विकास सम्भव छ । होइन; हामी यहाँसम्म आइपुग्नुलाई नै धिक्कार्दै विगततिर मात्र फर्कने र प्रतिशोधतर्फ उन्मुख हुने हो भने त के भनूँ र खै ? जलाउनै खोजे त पानी पनि त जल्ला ? अन्त्यमा अम्बर गुरुङको गीतको हरफ पो सम्झिएँ-
प्रश्नलाई पनि प्रश्न छ मेरो भन त पानी किन जल्छ ? ****************** साभार: कान्तिपुर दैनिक (कान्तिपुर दैनिकमा छुटेको यो लेखको अन्तिम अनुच्छेद पनि सम्मिलित)

एउटा सरल र स्पस्ट शैलीमा लेखिएको अत्यन्तै गहकिलो,यथार्थपूर्ण लेख, प्रबासी नेपालीहरूको नेपाली भाषा र संगीतप्रतिको प्रेम र लगाब,फरक फरक मातृभाषी भएर पनि स्वदेशमा मात्रै होइन प्रबासमा बस्ने संगीतकर्मीहरूले देखाएको नेपाली भाषा मोह र सम्मान, अनि आभासजीको खोजपूर्ण लेख । अत्यन्तै सान्दर्भिक । i enjoyed to read it very much.