झ्याउरे लोकभाकालाई मुनामदनमार्फत् लोकप्रिय बनाउन सफल महाकवि देवकोटाका दर्जनौं गीतहरूले शुक्रबार साँझ नेपालयको ‘आर’शाला गुञ्जायमान भयो । देवकोटाका गहन शब्दहरूमा पुराना र नयाँ पुस्ताका दशजना संगीतकारका धुनहरू कार्यक्रममा प्रस्तुत भएका थिए ।

लेखक कमलमणि दिक्षीत देवकोटा गुरुको सम्झना गर्दै ।
महाकविको प्रसिद्ध रचना ‘कुन मन्दीरमा जान्छौ यात्री’ बाट सुरु भएको करीब २ घण्टाको कार्यक्रममा देवकोटाका विद्यार्थीहरू, निबन्धकार कमलमणी दिक्षीत र सुप्रसिद्ध गीतकार रत्नशमशेर थापाले देवकोटासितका दिनहरूको सम्झना गरेका थिए । त्यही क्रममा कमलणी दिक्षीतले त्रीचन्द्र कलेज परिशरमा भेटिने देवकोटासितलाई सम्झँदै भने- ‘देवकोटा आफ्ना रचनाजस्तै स्वच्छन्द स्वभावको हुनुहुन्थ्यो ।’ देवकोटाले बालकृष्ण शम र आफ्नो लेखनका भिन्नताबरेमा राखेको धारणा सम्झँदै दिक्षीतले देवकोटाको बोलीको अभिनय साथ सुनाए- ‘बाबु साहेब (बालकृष्ण शम) आफ्ना रचनालाई काँटछाँट गरि चिटिक्क पार्नु हुन्छ म भने मनमा आएका सबै उतारि दिन्छु तर तिनलाई दोहोर्याएर हेर्दिन ।’

गीतकार रत्नशमशेर थापा आफ्ना गुरु महाकविको सन्दर्भ झिक्दै ।
मध्यान्तर पछि ‘गाइने गीत’ सँग्रहबाट दीपचन्दी तालमा गोपाल योञ्जनले भरेको ‘सगरभरि छाती चिरी’ले नेपालयको ‘आर’शाला गुञ्जायमान भयो । यो गीतको प्रस्तुति लगत्तै गीतकार रत्नशमशेर आफ्ना खुला विचारका साथ मञ्चको एक छेउमा झुल्किए र भने- ‘महाकविले मलाई घरमै आएर पढाउनु भयो किनभने उहाँ मेरा पिताजीको सहपाठी हुनुहुन्थ्यो । उहाँका पालामा संगीतकारसित संगत गर्ने अवसर पाउन मुस्किल थियो । त्यसैले उहाँका गीतमा ‘मिटर’को बन्धनभन्दा लयात्मक स्वच्छन्दता देखिन्छ ।’

महाकविका सुपुत्र डा- पद्म देवकोटा बाल्यकाल र पिताको सम्झँना गर्दै ।
रत्नशमशेरको धारणा पश्चात सांगीतिक प्रस्तुतिले फेरि रफ्तार लिएको थियो । दोस्रो चरणमा ‘हिमाल चुली’ गोविन्द बहादुर गुरुङको संगीतमा; ‘ईश्वर तैँले रचेर फेरि’ नारायण गोपालको संगीतमा; ‘झम झम परेली’ अमर जैसवालको संगीमा रहेका थिए । कार्यक्रमको अन्त्यतिर महाकविका सुपुत्र डा॰ पद्म देवकोटाले ‘पलेँटीको साँझले आफ्नो बाल्यकाल सम्झना गराएको र जूनेली रातमा आँगनमा गुन्द्री ओछ्याएर हार्मोनियम लिएर गाउँदै गरेका महाकवि (पिताजी) को झझल्को दिलाएको’ धारणा राख्दा दर्शक, श्रोतामा देवकोटामा रहेको संगीतप्रतिको आस्थाको जानकारीले एकप्रकारको तरंग पैदा गरेको थियो । कार्यक्रमको अन्तयतिर संगीतकार आभासले भरेका नयाँ धुनमा ‘किन मलाई गाउँ गाउँ लाग्यो’ र ‘अप्सराको रुप हाम्रो’ को प्रस्तुति भएको थियो । पलेँटीका गायक, गायिका सुरज, मीना र एन्जिलाले स्वर भरेको त्यो साँझमा तबलामा दिलीप, रिदम गीटारमा निरज, बेस गिटारमा माणिक, कीबोर्डमा दिनेश, भ्वाइलिनमा बालगोपाल, र बाँसुरीमा नगेन्द्रले साथ दिएका थिए । संयोजक आभासले संचालन गरेको कार्यक्रममा आगामी महिना गायक फत्तेमानलाई निम्त्याइएको जानकारी दिइएको थियो ।

