27
May
Posted by Aavaas In poems
म माटो मुनिको बीउ
भरखरै एउटा कोमल हातबाट रोपिएको छु
खुला आकाश र उज्यालोसित बिछोडिएको छु
सिर्जना गर्न अँध्यारो पनि पिउनु पर्दोरहेछ
म अहिले
धरतीभित्रै
अँध्यारो पिएर बाँचेको छु
यतिबेला
आफ्नो भन्नु-
आफैँभित्रको पीडा छ
मलाई थाहा छ
यही पीडाले
मलाई उमार्न सक्छ
यो पनि थाहा छ
यही पीडाले
मैलाई मार्न सक्छ !
25
May
Posted by Aavaas In poems
कुकुरको एकनासे भुकाइ
प्वाल पारिरहेछ; मथिङ्गल
किथ्राको किरकिर
झमझमाइरहेछ; रक्सीको नशा झैँ
विजुलीको तारमा बसेर
खुर्पे जून चपाइरहेछ; लाटोकोसेरो
म अँध्यारोले
लथपथ भिजेको छु
मेरा सबै छिमेकी
निथ्रुक्क छन् अँध्यारोले !
24
May
Posted by Aavaas In poems
चिलाउनेको रूखले घोषणा गर्यो
अब सबै रूख चिलाउने बन्नु पर्छ
र फैलाउनु पर्छ आफ्नो अस्तित्व
अर्थात्
हामी सबै चिलाउने बन्नु पर्छ
श्रीखण्डको रूखले इन्कार गर्यो
र भन्यो-
कृपया !
म त आफू
काटिएर पनि
ताछिएर पनि
चन्दन बन्नु पर्छ
मान्छेको निधारमा दलिनु पर्छ
शीतलता प्रदान गर्नु पर्छ मैले
म चिलाउने बन्ने छैन
म चिलाउने बन्ने छैन ।