‘सुबेल भाइ !
साच्चै मान्छेले पहिलोपल्ट कसरी प्रेम गर्न सिक्यो होला ? जंगली अवस्थादेखि अहिलेसम्म आइपुग्दा यसले ‘मोर्डन्’ ‘पोस्ट मोर्डन्’ या ‘अल्ट्रा मोर्डन्’ कुन रुप धारण गरिरहेको होला ? त्यसमा खोज गर्दा पो चासोपूर्ण होला नि ! हैन र ? प्रेमगीतका बारेमा मेरो (जसले आजसम्म पनि प्रेमको गहिराइलाई नै मात्र पछ्याउने प्रयास बाहेक मोती टिपेकै छैन ।) टिप्पणीले के नै महत्व राख्ला र ?’
त्यतिखेर ठट्टौलो मूडमा रहेको मैले सुबेललाई अलि ठाडो ईमेल लेखेछु कि कसो ? उसले त्यसको जवाफ पनि फर्काएन । खासमा उसले पुरानो पुस्ताले सिर्जना गरेका दशवटा उत्कृष्ठ प्रेमगीत र ती गीतलाई मन पराउनुका मेरा व्यक्तिगत धारणा मात्र बुझ्न खोजेको हो । म परे मूडी । त्यतिबेला सोचेँ- लाग्छ, प्रेम आफैँ नै धारणा, अवधारणा, नियम, नियन्त्रणमा नबाँधिने उन्मुक्त चरा झैँ हो । भनौं न ! एक एकखाले अराजक-जटिलतासित कावा खाँदै उड्ने चरा जस्तै त हो प्रेम । (मैले अराजकपछाडि जटिलतालाई जोडेँ नि ! यसमा मेरो मस्तिष्कको तन्तु मिश्रित कुनै गहन चिन्तन संलग्न छैन है । बरू छ मेरो मन संलग्न निजी अनुभूतिकै वैयत्तिक र सामान्य अनुभव ।) हुनलाई प्रेम भन्ने कुरा जटिल र असजिलो मानव गुण नै त हो । अझ, म त ठान्छु- मानव गुणमात्र नभइ प्राणी गुण नै हो । जति नै असजिलो र अराजक भए पनि यस्तो जगत-प्रिय तर नाजूक विषय अथवा प्रेमका बारेमा सार्वजनिक रुपमा निजी धारणा बनाउन म असमर्थ नै छु । उसले त भनेको थियो- ‘प्रेमगीतमाथि केही अभिव्यक्ति पाऊँ न, दाइ !’ भन्ने मन थियो- ए सुबेल- ‘गीत, संगीत, कला, साहित्य त रसास्वादननिम्ति हुन् नि भाइ ! तिनमाथि धारणा बनाएर म मेरो आत्मरञ्जनको घेरालाई किन साँघुरो बनाऊँ हँ ?’ तर मैले मुख फोरिन । बरु तत्काललाई एउटा बाङ्गो ढपको ईमेल पठाएर उम्किएँ । यसलाई उम्किएँ नै त कसरी भनौँ र खै ? यी अहिले केही लेखुँ भनेर त अल्झेकै छु नि । प्रेम पनि यस्तै त हुन्छ । भाग्न खोज्यो; भागेँ भन्यो या भागेको ठान्यो, तर बारम्बार जहाँकोत्यहीँ परिक्रमा गरिरह्यो र मोहमै अल्झिरह्यो ।
Read More
