31
Oct
Posted by Aavaas In memoirs
’तँ जन्मिसकिस् । त्यसैले कर्म गर्दै जा ! संसारमा तेरानिम्ति पनि ठाउँ छ ।’ किशोर अवस्थाबाट उम्कँदै गर्दा हजुरबाले ममाथि गरेको टिप्पणी ! जब अभरमा पर्छु । सम्झी बस्छु । के शक्ति थियो बूढाको अभिव्यक्तिमा ? थाहा छैन । ऊर्जा मिल्छ । र त हतास भइगए पनि, सम्हालिन्छु । तिनै अभिव्यक्तिका प्रतिध्वनिले । जो कैयौंपल्ट मेरा कानमा गुञ्जँदै आएका छन्- ‘तँ जन्मिसकिस् । त्यसैले कर्म गर्दै जा ! संसारमा तेरानिम्ति पनि ठाउँ छ ।’
केही हप्ता अघि पुगेथेँ जिरीमा । ढुंङ्गेश्वरी स्कुल छेउबाट उकालो चढ्न मन लाग्यो । गोरेटो हुँदै । एक्लै । के छ त्यो माथि अलिक उचाइमा ? त्यो हेरूँ । उचाइबाट कस्तो देखिन्छ जिरी ? त्यो पनि हेरूँ । उक्लँदै हुन्छु मास्तिर । बिहानी कलिलो किरणले तुषारो पगाल्दै हुन्छ । पातमा शीत झरेको सुन्छु । तप्प । तप्प । चराचुरुङ्गी छन् आफ्नै सुरमा । चिरबिर । चिरबिर । म आफ्नै सुरमा । गुनगुन । गुनगुन ।
उकाली चढ्दा पसिना पुछ्ने
तिमी नभए अरु को होला ? (गीत अम्बर गुरुङको)
को हुनु ? कोही छैन । छ उही चराको चिरबिर । चिरबिर । र आफू एक्लैको गुनगुन । गुनगुन । यतिबेलै नाकमा ठोकिन्छ परिचित जंगली सुगन्ध । धेरै पहिले सुँघेकोजस्तै । चेतनासित सुगन्धको के नाता छ कुन्नी ? सुरु हुन्छ ‘फ्ल्यासब्याक’ । धसिङ्गरको बुटो । त्यसको फलको स्वाद र गन्धसित डोरिँदै आएको- ऊ…त्यो प…रको अतीत ।

एघार बाह्रको उमेरमा हुँदो हुँ । यसरी नै उकालो चढ्नु पर्ने । खासगरी शनिबार । डिहीतर्फ । जहाँ हजुरबाको उत्तरार्ध बित्दैथियो । हजुरआमा बिनाको । नित्तान्त एक्लो । उनी थिए गोठाला । जुनी बिताउँदै गरेका स्याउला, घाँस गर्दै गाईका बथानमा । म तिनकै कान्छो नाति । पितामहलाई सघाउनु मेरो साप्ताहिक तालिका । पहाडे बारी । बग्रेल्ती बाँदर । एक दुई कुकुर । र मकैबारीको हिफाजत । दिनभरि बारीको डिल कुर्यो । कहिले भुईंकुहिरोसितको एकोहोरो वार्तालाप । कहिले पुस्तकका अक्षरसितको भलाकुसारी । कल्पनाशील किशोर उमेर जो थियो । कुहिरोमा लुक्दै लुक्दै कुनै स्वप्नसुन्दरी सामुमा उभिएको कल्पनामा डुब्यो । (दिमागमा भरिएको हुँदो हो सायद हिन्दी सिनेमाको ‘फ्याण्टासी’ । त्यसकै प्रभाव त होला ?) यता यथार्थमा भने बारीभरि बाँदर-हुलको चर्तिकला । अनि एक्कासी चर्कंदो कोलाहल । लहै, लहै । काले । खैरे । कुकुरको भयानक भुकाई । दुगुरादुगुर । हस्याङ् र फस्याङ् । स्याँस्याँ र फ्याँफ्याँ । …
Read More
22
Oct
Posted by Aavaas In poems
मैले टोपी फेरेँ
र फेरेँ मथिँगलका अनेकौँ कचिङ्गलहरू
सम्यक् भएर यात्रामा निस्केँ
सोचेँ-
मेरा पुराना मांसकोष मरिसके/मरिरहेछन्
म विलकुल
वर्तमान झैँ छर्लङ्ग छु
ताजा छु
दोबाटोमा
पुरानो मित्र भेटेँ
उसको पहिलो वाक्य-
‘अरे यार ! तँ त जस्ताकोतस्तै छस् ।’
19
Oct
Posted by Aavaas In songs
संसार फेर्ने अभियानमाथि उहिले लेखेको गीत । जसलाई गाएर रेकर्ड पनि गराएँ । एलबम ‘पला पला’ भित्र । मेरा धेरै धेरै श्रोताहरूले रुचाएको यो गीत आज पनि सन्दर्भभन्दा बाहिर छैन भन्ने लाग्छ । भैरव रिसाल दाइ (पाका पत्रकार) हरेक भेटमा मेरो मुहारतिर हेर्दै हाँसोका साथ भन्ने गर्नुहुन्छ- ‘के रे त्यो !! ‘संसारलाई फेर्छु भन्थ्यो …’ । हाम्रो सामाजिक यथार्थ ।’ आज त्यही गीत यहाँ । अँग्रेजी अनुवादसाथ ।
गोधूलिमा हिँड्ने एउटा जिउँदो मान्छे
संसारलाई फेर्छु भन्थ्यो आफैँ फेरिएछ
मझेरीको अँध्यारोलाई खाल्टो खनी पुर्छु भन्थ्यो
उनी आउने पूर्णिमालाई जुनीभरि कुर्छु भन्थ्यो
अँध्यारोको अङ्गालोमा आफैँ बेरिएछ
संसारलाई फेर्छु भन्थ्यो आफैँ फेरिएछ
मौसम साह्रै उजाडियो पालुवा झैँ झुल्छु भन्थ्यो
मेरो जन्म मेरो होइन अरु निम्ति फुल्छु भन्थ्यो
पुरानो त्यो हिसाब-किताब सबै केरिएछ
संसारलाई फेर्छु भन्थ्यो आफैँ फेरिएछ
WALKING AT SUNSET: A SONG
A live man walking in the haze of a dusty sunset
Once thought he would change the world but he changed instead
He used to say he would dig a pit to bury the gloom of the passageway
He used to say he would wait all life for the light of a rare full moon
He got ensnared in the embrace of darkness
He once said he would change the world but he changed instead
A live man walking in the haze of a dusty sunset
Once thought he would change the world but he changed instead
He used to say he would bow as a blossom when the season got parched
He used to say his birth was not his; it was for others he bloomed
Those old calculations have all been crossed out
He once said he would change the world but he changed instead
A live man walking in the haze of a dusty sunset
Once thought he would change the world but he changed instead
Translation by Manjushree Thapa
09
Oct
Posted by Aavaas In music