झ्याउरे लोकभाकालाई मुनामदनमार्फत् लोकप्रिय बनाउन सफल महाकवि देवकोटाका दर्जनौं गीतहरूले शुक्रबार साँझ नेपालयको ‘आर’शाला गुञ्जायमान भयो । देवकोटाका गहन शब्दहरूमा पुराना र नयाँ पुस्ताका दशजना संगीतकारका धुनहरू कार्यक्रममा प्रस्तुत भएका थिए ।
लेखक कमलमणि दिक्षीत देवकोटा गुरुको सम्झना गर्दै ।
महाकविको प्रसिद्ध रचना ‘कुन मन्दीरमा जान्छौ यात्री’ बाट सुरु भएको करीब २ घण्टाको कार्यक्रममा देवकोटाका विद्यार्थीहरू, निबन्धकार कमलमणी दिक्षीत र सुप्रसिद्ध गीतकार रत्नशमशेर थापाले देवकोटासितका दिनहरूको सम्झना गरेका थिए । त्यही क्रममा कमलणी दिक्षीतले त्रीचन्द्र कलेज परिशरमा भेटिने देवकोटासितलाई सम्झँदै भने- ‘देवकोटा आफ्ना रचनाजस्तै स्वच्छन्द स्वभावको हुनुहुन्थ्यो ।’ देवकोटाले बालकृष्ण शम र आफ्नो लेखनका भिन्नताबरेमा राखेको धारणा सम्झँदै दिक्षीतले देवकोटाको बोलीको अभिनय साथ सुनाए- ‘बाबु साहेब (बालकृष्ण शम) आफ्ना रचनालाई काँटछाँट गरि चिटिक्क पार्नु हुन्छ म भने मनमा आएका सबै उतारि दिन्छु तर तिनलाई दोहोर्याएर हेर्दिन ।’
गीतकार रत्नशमशेर थापा आफ्ना गुरु महाकविको सन्दर्भ झिक्दै ।
मध्यान्तर पछि ‘गाइने गीत’ सँग्रहबाट दीपचन्दी तालमा गोपाल योञ्जनले भरेको ‘सगरभरि छाती चिरी’ले नेपालयको ‘आर’शाला गुञ्जायमान भयो । यो गीतको प्रस्तुति लगत्तै गीतकार रत्नशमशेर आफ्ना खुला विचारका साथ मञ्चको एक छेउमा झुल्किए र भने- ‘महाकविले मलाई घरमै आएर पढाउनु भयो किनभने उहाँ मेरा पिताजीको सहपाठी हुनुहुन्थ्यो । उहाँका पालामा संगीतकारसित संगत गर्ने अवसर पाउन मुस्किल थियो । त्यसैले उहाँका गीतमा ‘मिटर’को बन्धनभन्दा लयात्मक स्वच्छन्दता देखिन्छ ।’
महाकविका सुपुत्र डा- पद्म देवकोटा बाल्यकाल र पिताको सम्झँना गर्दै ।
रत्नशमशेरको धारणा पश्चात सांगीतिक प्रस्तुतिले फेरि रफ्तार लिएको थियो । दोस्रो चरणमा ‘हिमाल चुली’ गोविन्द बहादुर गुरुङको संगीतमा; ‘ईश्वर तैँले रचेर फेरि’ नारायण गोपालको संगीतमा; ‘झम झम परेली’ अमर जैसवालको संगीमा रहेका थिए । कार्यक्रमको अन्त्यतिर महाकविका सुपुत्र डा॰ पद्म देवकोटाले ‘पलेँटीको साँझले आफ्नो बाल्यकाल सम्झना गराएको र जूनेली रातमा आँगनमा गुन्द्री ओछ्याएर हार्मोनियम लिएर गाउँदै गरेका महाकवि (पिताजी) को झझल्को दिलाएको’ धारणा राख्दा दर्शक, श्रोतामा देवकोटामा रहेको संगीतप्रतिको आस्थाको जानकारीले एकप्रकारको तरंग पैदा गरेको थियो । कार्यक्रमको अन्तयतिर संगीतकार आभासले भरेका नयाँ धुनमा ‘किन मलाई गाउँ गाउँ लाग्यो’ र ‘अप्सराको रुप हाम्रो’ को प्रस्तुति भएको थियो । पलेँटीका गायक, गायिका सुरज, मीना र एन्जिलाले स्वर भरेको त्यो साँझमा तबलामा दिलीप, रिदम गीटारमा निरज, बेस गिटारमा माणिक, कीबोर्डमा दिनेश, भ्वाइलिनमा बालगोपाल, र बाँसुरीमा नगेन्द्रले साथ दिएका थिए । संयोजक आभासले संचालन गरेको कार्यक्रममा आगामी महिना गायक फत्तेमानलाई निम्त्याइएको जानकारी दिइएको थियो ।
उनको वचनले दुख्यो मन आज
र पो चाल पाएँ बाँचेकै रहेछु
आघातले पत्थर बन्छ मुटु भन्थे
आफूभित्र मान्छे साँचेकै रहेछु
एकान्त रोजेँ सारा संसार भुल्न
सकिनँ ढाँटेर आफैँलाई छल्न
पीरको जलनले पछि हटेँ चुपचाप
र पो चाल पाएँ कायर पो रहेछु
दु:ख खेप्न सक्ने उठ्छ माथि भन्थे
आफूभित्र आफैँ घायल पो रहेछु
सम्हालेर छामेँ टुट्छ्यौ कि भनेर
चिन्दै चिनिनँ त्यति धेर चिनेर
गीतको हरफमा गाउँदै रहेँ छिनछिन्
र पो चाल पाएँ अल्झेकै रहेछु
बग्ने खोला कहिल्यै रोकिँदैन भन्थे
बाफिएर शीतमा बल्झेकै रहेछु
कुनै पनि खाले बलमिच्याइ सहन मन नलाग्नु मानवीय स्वभाव हो ! नियम बनाएपछि पालन नगर्ने हो भने विधान र संविधान किन बनाउने हो ? अब पनि नबोले त जिभ्रो नै थुत्नान् भन्ने डर भयो । बाटोमा हिँड्दा पनि लाठो खानु पर्ने त अतिवादतर्फको यात्रा होइन र ? वैचारिक स्वतन्त्रता जिन्दावाद ! बलवाद मूर्दावाद ! सबैखाले बलजिवीहरूको मति सुध्रोस् भन्ने कामनाकासाथ ५ वर्ष पहिले आफैँले कम्पोज गरेको फैजको कृति सम्झेँ-
बोल, कि लब आजाद हैं तेरे
बोल, ज़बां अब तक तेरी है
तेरा सुतवां1 जिस्म है तेरा
बोल, कि जाँ अब तक तेरी है
देख कि आहन्गर2 की दुकां में
तुन्द3 हैं शोले, सुर्ख़ हैं आहन
खुलने लगे क़ुफलों4 के दहाने5
फैला हर ज़ंजीर का दामन
बोल कि थोड़ा वक्त बहुत है
जिस्म-ओ-ज़बाँ की मौत से पहले
बोल, कि सच ज़िन्दा है जब तक
बोल जो कुछ कहना है कह ले!
जीवित छँदा गिरिजाबाबुसित मेरो कहिल्यै भेटघाट भएन । भनौं न; भेट्ने चाहना नै पनि गरिएन । तर मेरा केही मित्रहरू अमृत, किरण, विनय, अर्पणसित म उनको मौन लाशलाई भेट्न रङगशाला पुगेँ । उनको मलामी जान मलाई केले प्रेरित गर्यो ? केही दिनपछि म अहिले आफैँसित घोत्लँदै छु । सोच्छु र निस्कर्षमा पुग्न खोज्छु । सायद युगौंदेखि देख्दै, सिक्दै आएको सामाजिक संस्कारले म र हामीलाई उनको लाश अगाडि पुर्यायो । त्यहाँ पुग्दा मेरा मित्र र त्यो विशाल भीडको मनमा के कुरा खेलेको हुँदो हो कुन्नी ? तर मैले भने मेरा हजुरबाले वर्षौं पहिले, मृत् शरीरमाथि गरेको टिप्पणी सम्झिएँ । भन्थे- ‘सुन् केटा ! मरेपछि मान्छेले गल्ती गर्दैन र लाश देउतासमान नै हुन्छ । त्यसैले जसको लाश देखे पनि टक्क उभिनू र मौनतापूर्वक सम्मान गर्नू । अनि मृतक परिचित हो भने उसका असल कुरालाई मात्र सम्झँनू पनि ।’ बूढाको भनाईको माझमा रहेको ‘मौनतापूर्वक’ भन्ने शब्दले मलाई निकै प्रभावित पारेको रहेछ । मैले त्यसउपरान्त जुनकुनै मृतकसामु पुग्दा पनि आफ्नो मौनता भङ्ग नगरी टक्क उभिने प्रयत्न गरेको छु । मानवीय सम्वेदनाले निर्देशीत गरेका यस्ता मान्यताले हामीलाई मान्छे हुनुको परिचय दिन्छ भन्दा अत्युक्ति हुन्न नि है ? अनि फेरि; मरण परेका बेला हाम्रा सबै खाले औपचारिकता स्थीर रहेको हामीले धेरैतिर देखेका पनि त छौं । देखेका मात्र किन र ? प्रयोग नै गरेका छौं । मृत्यु परेका बखत हामी भावविह्वल मात्र रहदैँनौं । मौन पनि रहन्छौं र शीष्टाचारका धेरैखाले कृयाकलापलाई संचालन नै गर्दैनौं । नमस्कार आदानप्रदान गर्दैनौं । हात मिलाउँदैनौं । मुस्काउँदैनौं । तर गिरिजाबाबुको लाश सामू पुग्दा त टक्क उभिने र मौन रहने कुरा परै जाओस्; हो हल्लाले धकेलिँदै; एक किसिमको म्याराथुन नै गर्न वाध्य पो भयौं त ।
गिरिजाबाबुलाई राष्ट्रले औपचारिक रुपमै उच्च सम्मान प्रदान गर्यो । राष्ट्रपतिले पुष्पगुच्छा अर्पण गरे । प्रधानमन्त्रीले उनको मृत शरीरमाथि राष्ट्रिय ध्वजा फिँजाए । जनसाधारणबाट उठेको मान्छेले पूर्व राष्ट्रप्रमुखको हैशियतमा यस्तो सम्मान पाउँनु अद्भूत ऐतिहासिक क्षण थियो । भन्ठान्छु; उनका आलोचकदेखि लिएर समर्थकसम्म मिसिएर उर्लिएको मानवसागरले राष्ट्रिय बिम्ब निर्माण गर्न चाहेको शंकेत पनि थियो यो । हाम्रा पुराना बिम्बहरू समय पुगेर भत्किरहेका र भत्काउनै नपर्ने बिम्बहरू पनि भत्काइरहेका बखत देखिएको यो दृश्यले नेपाली समाजको उदार मनोभाव दर्शाउँछ । जसले हामी बीचबाटै नयाँ बिम्ब निर्माण गरेर प्रतिस्थापन गर्नु पर्ने शंकेत पनि गर्छ । जुन बिम्ब साझा होस् । सबैको होस् । तर उनको शवयात्रामा देखिएका, सुनिएका कतिपय दृश्यले भने हाम्रो मानवीय सम्वेदना मर्दै पो गएको हो कि भन्ने शंकेत पनि गर्थ्यो । भलै त्यसलाई अज्ञानता र भावविह्वलको अवस्थाले सिर्जना भएको मानवीय कमजोरी नै ठानौंला । तर त्यस अवस्थामा केही दृश्य जेजस्ता देखिए ती नदेखिनु पो पर्ने थिए भन्ने लाग्यो । लागिरहेछ ।
मेरो आफ्नो विषय संगीत हो । त्यसैले संगीतसित जोडिएको सन्दर्भबाट प्रवेश गरौं । प्रिय पाठक ! मेरो एउटा हार्दिक र विनम्र आग्रह- यसलाई मेरो बडप्पन भने नठानियोस् है ! आफूलाई मनमा लागेका केही कुरा अभिव्यक्त गर्नसम्म मात्र चाहेको हुँ ।
गिरिजाबाबुलाई राष्ट्रले सम्मानपूर्वक अन्त्यष्ठि गर्दा देखिएका दृश्यमा नयाँ राष्ट्रगानको ध्वनीसंगै चितामा रहेको उनको शरीरलाई अग्नी सामु समर्पण गर्नु उच्च भावुकताको महत्वपूर्ण क्षण थियो । तर अज्ञानता या केही प्राविधिक कारणले नै होला भनौं; त्यतिबेला चढाइएको धुनको सलामीले हाम्रो सम्वेदनालाई भावुकताको गहिराइसम्म प्रवेश गर्न सहजता प्रदान नगरेको भान हुन्थ्यो । खासगरि त्यसको लय (रिदम्) अथवा गति (टेम्पो) प्रवाहले । त्यो धुनको गति सामान्य समारोहमा बज्ने गतिमै बज्दै थियो । देशको तत्कालिन समय भने केही निमेषका निम्ति टक्क अडिएको पो हो कि जस्तो झैँ भान हुन्थ्यो । मौन । मनमा त्यस्तो भान परेकोमात्र के थियो; चितामा दनदनी आगो दन्कँदै गर्दाको दृश्य पनि आँखा सामु नै थियो । ठीक त्यतिबेलै मेरा मित्र अमृतले फोन गरे र मलाई भने- ‘आभासजी ! तपाईले यस विषयमा केही त लेख्नु पर्छ है !’ उनी नयाँ राष्ट्रगानका कम्पोजर आदरणीय अम्बर गुरुङ र मेरोबीच भएका अनेकौं सांगीतिक चर्चाका प्रत्यक्ष सहभागी थिए । अम्बर गुरुङसित हामीले नयाँ राष्ट्रगानका विभिन्न मूडका बारेमा अनेकौं पटक छलफल गरेका थियौं । त्यसमध्ये ‘राष्ट्रियशोकका बखत बज्ने राष्ट्रगानको लय सामान्य मध्यम-लयभन्दा केही ढीलो र तालबाजाहरू बेगरै’ हुनु पर्ने विषय पनि प्रमुख हुने गर्थ्यो । अम्बर गुरुङको त्यस धारणालाई म उही हाम्रो समाजमा रहेको, मराउका बखत देखिने ‘मौनता’सित जोडेर हेर्ने गर्थेँ । जुन ‘मौनता’ मस्तिष्कको चंख पनभन्दा मनको भावुकतासित निकट रहेको मानवीय अन्तर-स्वभाव हो । सायद भनिरहनु पर्ने विषय होइन; संगीत हाम्रो भावनालाई अभिव्यक्त गर्ने सबैभन्दा सशक्त कला माध्यम हो । त्यसैले हामी शोकमा परेको बखत यो कलाको स्वरुप हाम्रो मनोभावभन्दा विपरित जान्छ र जानु पर्छ कसरी भनौं ? तर लोकतान्त्रिक नेपालको पहिलो राष्ट्रगानको धुन पहिलो पूर्व राष्ट्रप्रमुखको अन्यष्ठीमा बज्दै थियो तर सामान्य स्वरुपमा । मानौं हामी कुनै उत्सवकै मूडमा छौं झैँ ।
यस्ता विषयमा देशको सँस्कृति थाम्ने जिम्मा लिएका निकायहरूले सोच्नु र विचार्नु पर्ने हो । तर हाम्रोमा पुरानो नेपालदेखि चल्दै आएको एउटा घतलाग्दो भनाई छ- ‘कल्चरको जिम्मा लिने हो भने एग्रिकल्चर पढ्न जानू ।’ भनाई छ मात्र होइन ! हामी यस भनाईको प्रयोगमा पनि खरो उत्रिएका छौं । विगतदेखि नै निरन्तर । खासमा हामी नयाँ भएको भ्रममा छौं । हाम्रो गुदी पुरानै छ । नत्र हामीले नयाँ नेपालका नयाँ बिम्बहरू निर्माण गर्दा झाराटार्ने पुरानै बाटो अप्नाउने थिएनौं । विश्वका कतिपय उन्नतशील राष्ट्रहरूमा राष्ट्रपहिचानका बिम्बहरूका बारेमा स्पष्ट नियमहरू छन् । झन् राष्ट्रधुनका बारेमा त कुन समारोहमा कस्तो अर्केष्ट्रेसन र संयोजन हुनुपर्छ, त्यसको लय र गतिले कति समयावधि लिनु पर्छ ? समेत स्पष्ट खुलाएर राष्ट्रिय नीति नै बनेका हुन्छन् । कतिपय देशमा त निस्चित अवस्था बाहेक तिनको प्रयोग नगर्ने नागरिक चेतनाको पनि विकाश भइसकेको छ । तर हाम्रोमा त जिम्मेवारहरूको चेतजस्तै नागरिकचेत पनि कम उदेक लाग्दो छैन । हामी नयाँ राष्ट्रका नयाँ बिम्बहरूलाई अति माया गर्छौं तर चेत नै गुम हुने गरी । आफ्नो मोबाइल सेटमा राष्ट्रगानको धुन भरेर राष्ट्रभक्ति दार्शाउँछौं । यसो गर्दा त्यो धुन भोजनालयदेखि अनेकौं आलयसम्म घन्कन्छ । भन्ने के ? भन्ने कस्लाई ? हामीले यसोगर्दा धुनको मान गरेका छौं या अपमान ? हामी अचेत छौं । राष्ट्रगान भनेको बनभोज र विवाह भोजमा बज्ने दोहोरी र डिस्को जस्तो मनोरञ्जनका खारित सिर्जना भएको होइन । यो त आफ्नो देशसित सम्बन्धित संसारभरिका समारोहमा प्रतिनिधित्व गर्ने देशको मुख्य ध्वनी हो । भनौं न; हस्ताक्षर हो । यति सामान्य कुराबाट समेत बिमूख हाम्रो अवस्था छ । म भने; गिरिजाबाबु (जस्ले आधीकारिक समारोहका बीच चारवटा भिन्दाभिन्दै धुन सुनेर अहिलेको राष्ट्रधुन छान्नमा निर्णायक अभिव्यक्ति समेत दिएका हुन् ।) संसारबाट बिदा हुँदा त्यो धुनको लय, गति र भावको गहिराईलाई वास्ता गरिएन भनेर गुनासो गरिरहेछु ।
हाम्रो समाजले संवेदनशीलता र भावुकताको जिम्मा कवि, कलाकारलाई दिएको अभिव्यक्ति यदाकदा सुन्छु । हो पनि हामी कलाकार त भावुकताका दास नै हौं । अझ भनौं, भक्त पो हौं । र त सुक्ष्म कुरालाई पनि केलाई बस्छौं । संवेदनशील बन्छौं । तर समाजको बागडोर सम्हाल्ने मुख्य पात्रहरू पनि भावुक हुनु पर्दैन र भनेको ? ‘नेताहरू संवेदनहीन भए भने तिनीहरू बीचबाटै तानाशाही शासक जन्मने सम्भावना हुन्छ ।’ कसैले कतै भनेको सम्झन्छु । गिरिजाबाबुको शवयात्राको दृश्य फेरि पकपल्ट सम्झन्छु । त्यहाँ घन्केका नारा पनि सम्झन्छु । सोच्छु- नाराबाट मुक्त हुने दिन पनि आउला । फेरि उनको शवसितै वाहनमा चढेका नेताहरू सम्झन्छु । तिनले हल्लाएका हात जो देखिएथे; ती सम्झन्छु । चुनावी अभियानमा जस्तै नहल्लाए हुन्थ्यो नि पनि भन्ठान्छु । आर्यघाटमा उपस्थित अनेकौं सार्वजनिक अनुहारहरू जो हाम्रो समाजका प्रतिनिधि मुहार हुन् । हेर्छु । भावुक नै देखिन सकेनन् । ठीकै छ । खित्किएर अट्टहास नै त ननिकाले हुने नि ! यस्तै के के सोच्दै म भने फेरि पनि हजुरबाकै भनाइमा रुमलिन पुग्छु- ‘सुन् केटा ! मरेपछि मान्छेले गल्ती गर्दैन र लाश देउतासमान नै हुन्छ । त्यसैले जसको लाश देखे पनि टक्क उभिनू र मौनतापूर्वक सम्मान गर्नू । अनि मृतक परिचित हो भने उसका असल कुरालाई मात्र सम्झँनू पनि ।’ भनाइको अन्तरभाव पूरै मनन गर्छु र मौनधारणको अवस्थामा झैँ एकतमासले घोत्लिन्छु ।
यसभन्दा पहिले कहिल्यै युगल गीत लेखेँ झैँ लाग्दैन । आज खै किन पो हो युगल गीत लेख्नमा ध्यान गयो । वर्तमान नेपाली समाजमा खासगरि शहरमा; प्रेम गर्नु र विछोडमा पर्नु सामान्य भएको छ । यही पृष्ठभूमीमा एउटा गीत । शब्द भरखर लेखेँ । आफैँलाई राम्रो लाग्यो भने कुनै क्षण संगीत पनि हुने नै छ ।
गायक-
भन केही भन्न खोजे झैँ देखिन्छ्यौ
कलकलाउँदो वैँशमै उदास किन छ्यौ ?
गायिका-
खाली छु हजूर, म त फेरि खाली
बेइमानीले वाचा तोड्यो यसैपाली
जीवनभरको साथ भन्ने गर्थ्यो पलपल
सायद कोही भेट्यो कलकलाउँदी निर्झर
गायक-
सम्बन्ध भनेकै बन्नु, भत्किनु हो
एउटा नै त टुट्यो फेरि गाँसे भैगो
टुट्दै उठ्दा मान्छे केही नयाँ सिक्छ
सम्हालेर सपना फेरि बुने भैगो
गायिका-
हिजो सुम्पेको यो, काया बिटुलो रे
कुरा काट्दै हिँड्ने भीड बीच म छु
कसरी बुनौँ खै फेरि नौला सपना
छियाछिया मनले आफैँ टुक्क्रेकी छु
गायक-
मन चोखो छ भने काया नीलो दह
अँजुलीमा भर्दै छु पिउन तयार म
न बहकिने वाचा तिमी आज बाँध
जीवनभरको साथ छु दिन तयार म
गायिका-
फेरि उस्तै वाचा सुन्दा डर लाग्छ
जीवनभरको साथ भो भो चाहिँदैन
म खेल्न तयार छु मनको चोखो खेल
विन्ति छ झेली गर्न पाइँदैन
(यो गीत, मेरो बाल्यकालको भोगाईको अनुभवबाट सिर्जना भएको हो । त्यसो त केहीवर्ष स्कुलका स-साना बालबालिकाहरूलाई अध्यापन गरेको अनुभव पनि यसमा मिसिएको छ नै ।)
हिउँखोलाको पानी छुनै नहुने
लेकको भिरालो बाटो हिंड्नै नहुने
याकको गलामा लाएको
घण्टी त बज्छ टिङ् टिङ्
हाम्रो त लेकमा मधुरो घाम
सधैँ पानीको रिमझिम
बादल आई छानामा
गर्दछ सधैँ छामछुम्
मादल चिसोले ओसिन्छ
डम्फू चैँ बज्छ धुम् धुम्
आङालाई अक्षर थाहा छैन
‘क’बाट के के लेखिन्छ
छिरिङलाई सधैँ पाखामा
घाँसको भारीमा भेटिन्छ
यो गीतको पहिलो रेकर्डिङमा स्कुले नानीहरू र गायिका पवित्र सुब्बाको स्वर रहेको थियो । पछि पवित्रको स्वरमा मात्र पनि रेकर्ड भयो । यसलाई वाद्यवादनमा अझै परिमार्जन गर्ने सोच छ । आफ्नै स्टुडियो हुँदा रेकर्ड गरेकोले पवित्रको स्वर छुट्टै ट्रयाकमा पनि छ रहेछ !