• संम्बन्धित पृष्ठ/Links

  • विधा/Categories

  • मेटा/Meta

  • अभिलेखालय/Archives

  • SHOW / HIDE NAVIGATION

    संगीत समाचार

    झरीका बीच छाता, प्रेम र पलेँटी

    काठमाण्डौ, भदौ १३

    शुक्रबार साँझ बाहिर भदौरे झरी थियो र नेपालयको ‘आर”शालाभित्र छाता मुनी ओतिने प्रेमीका प्रसंगसँगै जोडिएर सुमधुर धुनहरू गुञ्जिँदै थिए । विगत ६ वर्षदेखि निरन्तरता पाउँदै आएको पलेँटीमा यासपाली मञ्चमा उपस्थित थिए गीतकार दिनेश अधिकारी । आरम्भमा दर्शकहरूलाई भित्रतिर आकर्षित गरिरहेको हुन्छ दादरा तालमा बजेको स्फूर्त धुनले । पदीय कारणले प्राय औपचारिक पोशाकमा देखिने दिनेश जसरी आधा बाहुलाको सर्टमा अनऔपचारिक देखिन्छन्, कार्यक्रम पनि सहज र अनऔपचारिक रुपमै अगाडि बढ्छ । कार्यक्रम संचालकतिर इशारा गर्दै दिनेश आफ्नो अगाडिको माइक्रोफोन हातमा लिन्छन् र उपस्थित दर्शकलाई स्वागत गर्दै आफ्नो अभिव्यक्ति यसरी राख्छन् – ‘पलेँटी शृंखलासित अब म पनि जोडिएको छु । मजस्तो आवाज नभएका गीतकारले पनि तपाईंहरू सामु आउने एउटा माध्यम भेटेका छौं । आज म साह्रै हर्षित छु ।’

    दिनेशले विविध मूडका गीत रचेका छन् । उनका रचनामा मानवीय मनले महसुस गर्ने मिलन, बिछोड, विरहदेखि लिएर मस्तिष्कले पहिल्याउने सामाजिक सरोकारसम्म समेटिएका हुन्छन् । कार्यक्रमको पहिलो गीतले भने पीडालाई नै पछ्याएको हुन्छ । ‘जीवन भनूँ त घात छ’ गीतको पृष्ठभूमी र गायक भक्तराजसितको भेटका तितामीठा प्रसंग जोड्छन् दिनेश । भन्छन्- ‘एउटा गीतका निम्ति ‘गीतकार, संगीतकार र गायक तीनैजनाको उत्तिकै योगदान रहेको हुन्छ ।’

    प्रकाश गुरुङ, राम थापा र दिनेश सुब्बाहरूका संगीत सिर्जनामा दिनेशका शब्दहरू उनिदै कार्यक्र अगाडि बढ्छ । दिनेश आफू प्रणयसूत्रमा बाँधिएको दिनलाई सम्झन्छन् र जीवनसंगिनी उषातिर हेर्दै त्यसदिनको घटनालाई कोट्याउछन्- ‘हाम्रो बिहेको दिन थियो । नारायणगोपाल दाइ लगायत मेरा सबै सांगीतिक मित्रहरू उपस्थित भइसकेका थिए तर संगीतकार राम थापा र गायक प्रकाश श्रेष्ठ भोज सकिनै लाग्दा मात्र आइपुगे । उनीहरू त मलाई उपहार दिन रेडियोमा ‘मलाई नजरको ईशारा नदेऊ’ रेकर्ड गर्नाका कारणले ढिलो भएका रहेछन् । उनीहरूले उपहार दिएको त्यो दिनको टेप मसँग अझै सुरक्षित छ ।’ सहज हाँसोमा टाउको हल्लाउँछन् दिनेश ।

    कार्यक्रममा तीन वटा नयाँ धुन पहिलो पल्ट सार्वजनिक भएका थिए । तिनमा संगीतकार आभास र राजेन्द्र श्रेष्ठले संगीत भरेका हुन्छन् । एउटा गीतको प्रसंगमा दिनेशले पाकिस्तानी गायक गुलाम अलीलाई सम्झन्छन् । उनलाई लागेको रहेछ यो गीतमा फेरि धुन भरिए हुन्थ्यो । कवि गोष्ठीमा कुनै बेला गीतको पनि चर्चा चले वाचनको छनोटमा पर्ने गीत रहेछ यो ।

    ओठभरि दुख्छ जीवन आँखाभरि दुख्छ
    हिडूँ भन्छु पैतालामा जिन्दगी नै दुख्छ

    शक्ति बल्लभ, प्रकाश गुरुङ र नारायणगोपाल हुँदै मध्यान्तरसम्म पुगेको कार्यक्रम गलैँचा कारखानामा तान बुन्ने युवतीको व्यथादेखि लिएर ‘कहिले छायाँसँग’ खसेका र कहिले मायामा फसेका सिर्जनामा तरङ्गित थियो ।

    मधयान्तरपछि गीतकार दिनेश झनै खुलेर रचनाकर्मप्रतिका आफ्ना धारणाहरु प्रष्ट्याउथे र उनकै छेउमा पलेँटी कसेर गाइरहेका गायक गायिका सुरज र मीनालाई ईशाराले प्रशंसा गर्थे । कर्यक्रममा अम्बर गुरुङ, नातिकाजि, गोपाल योञ्जन, दीव्य खालिङ र न्ह्यू वज्राचार्यसितका सन्दर्भहरू त जोडिएर आए नै । दीव्य खालिङले नारायणगोपाललाई भेट्न लिएर गएको र नारायणगोपालले गीतमा रहेको कुनै एउटा शब्द परिवर्तनको लागि छलफल गरेकोमा आफू सहमत हुँदाहुँदै पनि संगीतकार र गायकको विवादले झण्डै आफ्नो रचनाले नारायणगोपालको आवाजबाट बन्चित हुनु परेको प्रसंग रोचक थियो । साथै शब्दमा त्यतिधेरै सचेत नारायणगोपालले नै गाएको गीत ‘तिमी जुन रहरले’ मा ‘राताम्य’ को ठाउँमा ‘रक्ताम्य’ भएर रेकर्ड हुन पुगेको सन्दर्भ पनि रोचक थियो । दिनेशले पलेँटीमा भने त्यो गल्तिलाई सच्याउन पाएकोमा खुसी पनि व्याक्त गरे ।

    कार्यक्रममा दिनेश गीतकारका रुपमा त छँदै थिए । उनले कविको आफ्नो परिचयलाई पनि प्रभावशाली ढंगले प्रस्तुत गरे । बाजाहरूको सुर मिलाउँदै गरेको अवस्थालाई छोपेर कार्यक्रम संचालन गरिरहेका संगीतकार आभासले अनुरोध गरे- ‘दिनेश दाइ ! मौकाको फाइदा उठाउँ न । एउटा कविता सुनौं ।’ दिनेशले कविता सँग्रहको पाना पल्टाएर छाने ‘बिहे’ शीर्षकका दुईवटा छोटा प्रसङ्ग । कवितामा बिहे हुनु पहिले एउटै छाता मुनी ओतिएका प्रेमी जोडीको मनस्थिति र बिहेका केही वर्षपछि एउटै छाता मुनी ओतिँदा तिनै जोडीमा देखिने विपरित मनस्थितिलाई प्रभावशाली ढंगले समेटिएको हुन्छ । फेरि गीतमै फर्कँदा प्रस्तुत गीतले त्यस्तै अवस्थालाई शंकेत गरे झैँ लग्थ्यो-

    तिमी जुन रहरले ममा फुल्न आयौ
    सबै सुख हराए सधैं चोट पायौ

    यसरी ‘आर’शाला भित्रको पलेँटीमा छाता मुनी र छाता बाहिरका प्रेमीको मनोदशाका अनेकौं कोणको सिर्जनात्मक वर्षा भइरहँदा बाहिर आकाश अझै थाकेको थिएन तर रात छिप्पिँदै गएकोले होला बाटोमा छाता मुनी ओतिने प्रेमी जोडीहरू भने देखिन्नथे ।

    संगीत समाचार

    ‘पलेँटी शृंखला’मा आउँदैछन्- दिनेश अधिकारी

    काठमाण्डौ, भदौ ९

    विगत ६ वर्षदेखि संचालन हुँदै आएको पलेँटी शृंखलाले यसपाली गीतकार दिनेश अधिकारीलाई प्रस्तुत गर्ने भएको छ । गीतकार दिनेश अधिकारीको गीति साँझलाई प्रभावशाली बनाउन ‘आर’ शालाभित्र पलेँटीका गायक गायिका र वाद्यवादकहरू अभ्यासमा जुटिरहेकेका छन् ।

    नेपाली आधुनिक कविता र गीतमा दिनेश अधिकारीको २००३३ सालदेखि क्रियाशील व्यक्तित्व हुन् । आरम्भमा खासगरि कविको रुपमा स्थापित उनले पछिल्लो चरणमा गीतकारको रुपमा पनि उत्तिकै लोकप्रियता आर्जन गरेका छन् । नेपाली आधुनिक संगीतको अघिल्लो पुस्ताका नारायणगोपाल, अम्बर गुरुङ, नातिकाजी, गोपाल योञ्जन लगायत दर्जनभन्दा बढी कलाकारसित रचनात्मक सहकार्य गरेका दिनेश, वर्तमान युवा पुस्तामा पनि उत्तिकै भिजेका गीतकार हुन् ।

    दिनेशले नेपाली आधुनिक संगीत लगायत फिल्मी गीतमा पनि स्तरीयता थप्नमा अनुपम योगदान पुर्‍याएका छन् ।

    लोकप्रियताको शीखर चुमेका दिनेश अधिकारीका रचनामा ‘तिमी जुन रहरले ममा फुल्न आयौ’ ‘यो सम्झिने मन छ’ ‘बोल बोल पाखाहरू’ ‘सोचे जस्तो हुन्न जीवन’ ‘तिमी यसै लजायौ’ प्रमुख सिर्जना हुन् ।

    यसपालीको पलेँटीमा दिनेशका पुराना लोकप्रिय रचनाका साथै नयाँ धुनमा बाँधिएका गीतहरू पनि प्रस्तुत गरिने भएका छन् । उनका रचनालाई पलेँटीका गायक, गायिका सुरज र मिनाले स्वर दिनेछन् ।

    भाव र मर्मका आधारमा पलेँटीका लागि गीतहरूको छनोटमा संलग्न दिनेश अधिकारी, पलेँटीमा आफ्नो आगामी सहभागितालाई यसरी उल्लेख गर्छन्– ‘सांगीतिक इतिहासको संरक्षणमा जुटिरहेको पलेँटीसित अब म पनि जोडिँदै छु । आवाज नहुने हामीजस्ता गीतकारलाई पनि समेट्दै आएको यो कार्यक्रममा सहभागी हुन पाउँदा अत्यन्त हर्षित भएको छु । त्यसदिन मेरा रचनालाई माया गर्ने दर्शक, श्रोताबाट मैले पनि मनग्य माया पाउने आशा गर्छु ।’

    शृंखलालाई संयोजन गर्दै आएका, संगीतकार तथा गायक आभास भन्छन्- ‘पलेँटीले क्रमशः नेपाली आधुनिक संगीतका तीनवटै विधाका अग्रजहरूलाई समेट्ने ध्येय राखेको छ । त्यही क्रममा यसपाली दिनेशदाइलाई निम्त्याएका छौं । उहाँको सहभागिताले पलेँटीमा थप उर्जा थपिने छ।’

    पलेँटी हरेक अँग्रेजी महिनाको अन्तिम शुक्रबार कालिकास्थानमा रहेको नेपालयको ‘आर’शालामा आयोजना हुँदै आएको छ ।

    झ्याउरे लोकभाकालाई मुनामदनमार्फत् लोकप्रिय बनाउन सफल महाकवि देवकोटाका दर्जनौं गीतहरूले शुक्रबार साँझ नेपालयको ‘आर’शाला गुञ्जायमान भयो । देवकोटाका गहन शब्दहरूमा पुराना र नयाँ पुस्ताका दशजना संगीतकारका धुनहरू कार्यक्रममा प्रस्तुत भएका थिए । 

    लेखक कमलमणि दिक्षीत देवकोटा गुरुको सम्झना गर्दै ।

    महाकविको प्रसिद्ध रचना ‘कुन मन्दीरमा जान्छौ यात्री’ बाट सुरु भएको करीब २ घण्टाको कार्यक्रममा देवकोटाका विद्यार्थीहरू, निबन्धकार कमलमणी दिक्षीत र सुप्रसिद्ध गीतकार रत्नशमशेर थापाले देवकोटासितका दिनहरूको सम्झना गरेका थिए । त्यही क्रममा कमलणी दिक्षीतले त्रीचन्द्र कलेज परिशरमा भेटिने देवकोटासितलाई सम्झँदै भने- ‘देवकोटा आफ्ना रचनाजस्तै स्वच्छन्द स्वभावको हुनुहुन्थ्यो ।’ देवकोटाले बालकृष्ण शम र आफ्नो लेखनका भिन्नताबरेमा राखेको धारणा सम्झँदै दिक्षीतले देवकोटाको बोलीको अभिनय साथ सुनाए- ‘बाबु साहेब (बालकृष्ण शम) आफ्ना रचनालाई काँटछाँट गरि चिटिक्क पार्नु हुन्छ म भने मनमा आएका सबै उतारि दिन्छु तर तिनलाई दोहोर्‍याएर हेर्दिन ।’

    गीतकार रत्नशमशेर थापा आफ्ना गुरु महाकविको सन्दर्भ झिक्दै ।

    मध्यान्तर पछि ‘गाइने गीत’ सँग्रहबाट दीपचन्दी तालमा गोपाल योञ्जनले भरेको ‘सगरभरि छाती चिरी’ले नेपालयको ‘आर’शाला गुञ्जायमान भयो । यो गीतको प्रस्तुति लगत्तै गीतकार रत्नशमशेर आफ्ना खुला विचारका साथ मञ्चको एक छेउमा झुल्किए र भने- ‘महाकविले मलाई घरमै आएर पढाउनु भयो किनभने उहाँ मेरा पिताजीको सहपाठी हुनुहुन्थ्यो । उहाँका पालामा संगीतकारसित संगत गर्ने अवसर पाउन मुस्किल थियो । त्यसैले उहाँका गीतमा ‘मिटर’को बन्धनभन्दा लयात्मक स्वच्छन्दता देखिन्छ ।’

    महाकविका सुपुत्र डा- पद्म देवकोटा बाल्यकाल र पिताको सम्झँना गर्दै ।

    रत्नशमशेरको धारणा पश्चात सांगीतिक प्रस्तुतिले फेरि रफ्तार लिएको थियो । दोस्रो चरणमा ‘हिमाल चुली’ गोविन्द बहादुर गुरुङको संगीतमा; ‘ईश्वर तैँले रचेर फेरि’ नारायण गोपालको संगीतमा; ‘झम झम परेली’ अमर जैसवालको संगीमा रहेका थिए । कार्यक्रमको अन्त्यतिर महाकविका सुपुत्र डा॰ पद्म देवकोटाले ‘पलेँटीको साँझले आफ्नो बाल्यकाल सम्झना गराएको र जूनेली रातमा आँगनमा गुन्द्री ओछ्याएर हार्मोनियम लिएर गाउँदै गरेका महाकवि (पिताजी) को झझल्को दिलाएको’ धारणा राख्दा दर्शक, श्रोतामा देवकोटामा रहेको संगीतप्रतिको आस्थाको जानकारीले एकप्रकारको तरंग पैदा गरेको थियो । कार्यक्रमको अन्तयतिर संगीतकार आभासले भरेका नयाँ धुनमा ‘किन मलाई गाउँ गाउँ लाग्यो’ र ‘अप्सराको रुप हाम्रो’ को प्रस्तुति भएको थियो । पलेँटीका गायक, गायिका सुरज, मीना र एन्जिलाले स्वर भरेको त्यो साँझमा तबलामा दिलीप, रिदम गीटारमा निरज, बेस गिटारमा माणिक, कीबोर्डमा दिनेश, भ्वाइलिनमा बालगोपाल, र बाँसुरीमा नगेन्द्रले साथ दिएका थिए । संयोजक आभासले संचालन गरेको कार्यक्रममा आगामी महिना गायक फत्तेमानलाई निम्त्याइएको जानकारी दिइएको थियो ।

    Paleti concert in Beijing

    उनको वचनले

    उनको वचनले दुख्यो मन आज
    र पो चाल पाएँ बाँचेकै रहेछु
    आघातले पत्थर बन्छ मुटु भन्थे
    आफूभित्र मान्छे साँचेकै रहेछु

    एकान्त रोजेँ सारा संसार भुल्न
    सकिनँ ढाँटेर आफैँलाई छल्न
    पीरको जलनले पछि हटेँ चुपचाप
    र पो चाल पाएँ कायर पो रहेछु
    दु:ख खेप्न सक्ने उठ्छ माथि भन्थे
    आफूभित्र आफैँ घायल पो रहेछु

    सम्हालेर छामेँ टुट्छ्यौ कि भनेर
    चिन्दै चिनिनँ त्यति धेर चिनेर
    गीतको हरफमा गाउँदै रहेँ छिनछिन्
    र पो चाल पाएँ अल्झेकै रहेछु
    बग्ने खोला कहिल्यै रोकिँदैन भन्थे
    बाफिएर शीतमा बल्झेकै रहेछु

    बोल

    कुनै पनि खाले बलमिच्याइ  सहन मन  नलाग्नु मानवीय स्वभाव हो  !  नियम बनाएपछि पालन नगर्ने हो भने विधान र संविधान किन बनाउने हो ? अब पनि नबोले त जिभ्रो नै थुत्नान् भन्ने डर भयो । बाटोमा हिँड्दा पनि लाठो खानु पर्ने त अतिवादतर्फको यात्रा  होइन र ?  वैचारिक स्वतन्त्रता जिन्दावाद ! बलवाद मूर्दावाद ! सबैखाले बलजिवीहरूको मति सुध्रोस् भन्ने कामनाकासाथ ५ वर्ष पहिले आफैँले कम्पोज गरेको फैजको कृति सम्झेँ-

    बोल, कि लब आजाद हैं तेरे
    बोल, ज़बां अब तक तेरी है
    तेरा सुतवां1 जिस्म है तेरा
    बोल, कि जाँ अब तक तेरी है

    देख कि आहन्गर2 की दुकां में
    तुन्द3 हैं शोले, सुर्ख़ हैं आहन
    खुलने लगे क़ुफलों4 के दहाने5
    फैला हर ज़ंजीर का दामन

    बोल कि थोड़ा वक्त बहुत है
    जिस्म-ओ-ज़बाँ की मौत से पहले
    बोल, कि सच ज़िन्दा है जब तक
    बोल जो कुछ कहना है कह ले!

    1. गठीला, 2. लुहार, आहन – लोहा, 3. तेज, 4. ताले, 5. मुंह

    पाहुनाको कलम

    घामका कुरा

    • कल्पना बान्तवा

    इत्रिनुसम्म इत्रेर
    सन्ध्यासँग
    डाँडाको घाम
    पारी ‌ओरालो झर्छ,
    सातौं घोडा हराएको रन्को -
    धोक्छ तिनपाने
    निशाको भट्टीमा
    र, त्यहीँ बेन्चीमा
    अप्ठ्यारोसँग निदाउँछ

    रातिँदै सरमले
    चियाउँछ एकाबिहानै
    नदीकिनार बाँसझ्याङबाट
    देख्छ – सँधैझैँ शान्त छे धरती
    ऊ ग्लानीले भरिन्छ,
    आफूबाटै चोईटिएकी
    सुधी, सुवानी, डल्ली मोरीको
    उसलाई, अग्घोरै माया लाग्छ
    मनचिन्ते झोलीभित्र
    सुध्रने वाचा र प्रेम–प्रतिज्ञा खोज्छ

    फँसेर,
    इन्द्रेणीका इन्द्रजाले कुरामा
    उ मूडी हुँदैछ
    काले शनीले घुर्दा उसलाई
    धुँवाको तलतल लाग्छ
    बेफ्वाँकमा रनक्क रन्किन्छ, कुपित हुन्छ,
    खराब छन् राहुकेतुका नियत
    ट्यापे हुँला कि भनी डराउँछ
    गम खान्छ,
    डेन्ड्रोइड सुँघ्दै
    कुन दिन ऊ
    चेनस्मोकर बन्छै बन्छ

    टाउको झटकार्छ,
    जीम जाने सुरसार कस्छ
    मरिलानु के छ र !
    बेस्सरी उर्जा खपत गर्छ
    स्यामिना बढाउँछ
    भरदिन -
    घरतीको टाउकामा गीर खेल्छ
    फटाहा बादल,
    देखि सहँदैन
    उसका बाइसेप्स, ट्राइसेप्स
    सिक्स प्याक्सलाई
    घरिघरि छेक्न आउँछ
    कम्तीकी छैन,
    बरखा मोरी पनि
    ट्याम-कुट्याम बर्सेर
    जाज्वल्यमान उसको
    तेजोवध गर्छे –
    दुश्मनहरुलाई सम्झेर
    घाम ‘सिक’ हुन्छ

    उसमा क्रमश:
    हावी हुन्छ डिप्रेशन
    शक्ति क्षीण हुँदा,
    कमलपित्तको रोगीझैँ
    थाल्छ पहेँलिन
    धरती बिर्सन्छ,
    धरतीको निश्छल प्रेम बिर्सन्छ
    सुध्रने वाचा, कसम, किरीया
    सबै भुल्छ

    र, साँझ फेरि
    निशाको भट्टीतिरै
    ओह्रालो हानिन्छ ………….

    २०६७/०१/२०

    जब तिनीहरू आए

    • मार्टिन निइम्युलर

    जब नाजिहरू कम्युनिष्ट सामु आए
    मैले मौनता रोजेँ
    म कुनै कम्युनिष्ट थिइनँ

    जब तिनीहरूले
    बन्दी बनाए, सोसल-डेमोक्रेट्स्-लाई
    मैले मौनता रोजेँ
    म कुनै सोसल-डेमोक्रेट्स् थिइनँ

    जब तिनीहरू ट्रेड-युनियन समर्थक सामु आए
    मैले ओठ खोल्दै खोलिन
    म कुनै ट्रेड-युनियन समर्थक थिइनँ

    जब तिनीहरू यहूदी सामु आए
    मैले मौनता नै रोजेँ
    म कुनै यहूदी थिइनँ

    जब तिनीहरू मेरै सामु आए
    बचाउने कोही पनि बाँकी थिएन ।
    अनुवाद: आभास

    HAPPY 2067

    जीवित छँदा गिरिजाबाबुसित मेरो कहिल्यै भेटघाट भएन । भनौं न; भेट्ने चाहना नै पनि गरिएन । तर मेरा केही मित्रहरू अमृत, किरण, विनय, अर्पणसित म उनको मौन लाशलाई भेट्न रङगशाला पुगेँ । उनको मलामी जान मलाई केले प्रेरित गर्‍यो ? केही दिनपछि म अहिले आफैँसित घोत्लँदै छु । सोच्छु र निस्कर्षमा पुग्न खोज्छु । सायद युगौंदेखि देख्दै, सिक्दै आएको सामाजिक संस्कारले म र हामीलाई उनको लाश अगाडि पुर्‍यायो । त्यहाँ पुग्दा मेरा मित्र र त्यो विशाल भीडको मनमा के कुरा खेलेको हुँदो हो कुन्नी ? तर मैले भने मेरा हजुरबाले वर्षौं पहिले, मृत् शरीरमाथि गरेको टिप्पणी सम्झिएँ । भन्थे- ‘सुन् केटा ! मरेपछि मान्छेले गल्ती गर्दैन र लाश देउतासमान नै हुन्छ । त्यसैले जसको लाश देखे पनि टक्क उभिनू र मौनतापूर्वक सम्मान गर्नू । अनि मृतक परिचित हो भने उसका असल कुरालाई मात्र सम्झँनू पनि ।’ बूढाको भनाईको माझमा रहेको ‘मौनतापूर्वक’ भन्ने शब्दले मलाई निकै प्रभावित पारेको रहेछ । मैले त्यसउपरान्त जुनकुनै मृतकसामु पुग्दा पनि आफ्नो मौनता भङ्ग नगरी टक्क उभिने प्रयत्न गरेको छु । मानवीय सम्वेदनाले निर्देशीत गरेका यस्ता मान्यताले हामीलाई मान्छे हुनुको परिचय दिन्छ भन्दा अत्युक्ति हुन्न नि है ? अनि फेरि;  मरण परेका बेला हाम्रा सबै खाले औपचारिकता स्थीर रहेको हामीले धेरैतिर देखेका पनि त छौं । देखेका मात्र किन र ? प्रयोग नै गरेका छौं । मृत्यु परेका बखत हामी भावविह्वल मात्र रहदैँनौं । मौन पनि रहन्छौं र शीष्टाचारका धेरैखाले कृयाकलापलाई संचालन नै गर्दैनौं । नमस्कार आदानप्रदान गर्दैनौं । हात मिलाउँदैनौं । मुस्काउँदैनौं । तर गिरिजाबाबुको लाश सामू पुग्दा त टक्क उभिने र मौन रहने कुरा परै जाओस्; हो हल्लाले धकेलिँदै; एक किसिमको म्याराथुन नै गर्न वाध्य पो भयौं त ।

    गिरिजाबाबुलाई राष्ट्रले औपचारिक रुपमै उच्च सम्मान प्रदान गर्‍यो । राष्ट्रपतिले पुष्पगुच्छा अर्पण गरे । प्रधानमन्त्रीले उनको मृत शरीरमाथि राष्ट्रिय ध्वजा फिँजाए । जनसाधारणबाट उठेको मान्छेले पूर्व राष्ट्रप्रमुखको हैशियतमा यस्तो सम्मान पाउँनु अद्भूत ऐतिहासिक क्षण थियो । भन्ठान्छु; उनका आलोचकदेखि लिएर समर्थकसम्म मिसिएर उर्लिएको मानवसागरले राष्ट्रिय बिम्ब निर्माण गर्न चाहेको शंकेत पनि थियो यो । हाम्रा पुराना बिम्बहरू समय पुगेर भत्किरहेका र भत्काउनै नपर्ने बिम्बहरू पनि भत्काइरहेका बखत देखिएको यो दृश्यले नेपाली समाजको उदार मनोभाव दर्शाउँछ । जसले हामी बीचबाटै नयाँ बिम्ब निर्माण गरेर प्रतिस्थापन गर्नु पर्ने शंकेत पनि गर्छ । जुन बिम्ब साझा होस् । सबैको होस् । तर उनको शवयात्रामा देखिएका, सुनिएका कतिपय दृश्यले भने हाम्रो मानवीय सम्वेदना मर्दै पो गएको हो कि भन्ने शंकेत पनि गर्थ्यो । भलै त्यसलाई अज्ञानता र भावविह्वलको अवस्थाले सिर्जना भएको मानवीय कमजोरी नै ठानौंला । तर त्यस अवस्थामा केही दृश्य जेजस्ता देखिए ती नदेखिनु पो पर्ने थिए भन्ने लाग्यो । लागिरहेछ ।

    मेरो आफ्नो विषय संगीत हो । त्यसैले संगीतसित जोडिएको सन्दर्भबाट प्रवेश गरौं । प्रिय पाठक ! मेरो एउटा हार्दिक र विनम्र आग्रह- यसलाई मेरो बडप्पन भने नठानियोस् है ! आफूलाई मनमा लागेका केही कुरा अभिव्यक्त गर्नसम्म मात्र चाहेको हुँ ।

    गिरिजाबाबुलाई राष्ट्रले सम्मानपूर्वक अन्त्यष्ठि गर्दा देखिएका दृश्यमा नयाँ राष्ट्रगानको ध्वनीसंगै चितामा रहेको उनको शरीरलाई अग्नी सामु समर्पण गर्नु उच्च भावुकताको महत्वपूर्ण क्षण थियो । तर अज्ञानता या केही प्राविधिक कारणले नै होला भनौं; त्यतिबेला चढाइएको धुनको सलामीले हाम्रो सम्वेदनालाई भावुकताको गहिराइसम्म प्रवेश गर्न सहजता प्रदान नगरेको भान हुन्थ्यो । खासगरि त्यसको लय (रिदम्) अथवा गति (टेम्पो) प्रवाहले । त्यो धुनको गति सामान्य समारोहमा बज्ने गतिमै बज्दै थियो । देशको तत्कालिन समय भने केही निमेषका निम्ति टक्क अडिएको पो हो कि जस्तो झैँ भान हुन्थ्यो । मौन । मनमा त्यस्तो भान परेकोमात्र के थियो; चितामा दनदनी आगो दन्कँदै गर्दाको दृश्य पनि आँखा सामु नै थियो । ठीक त्यतिबेलै मेरा मित्र अमृतले फोन गरे र मलाई भने- ‘आभासजी ! तपाईले यस विषयमा केही त लेख्नु पर्छ है !’ उनी नयाँ राष्ट्रगानका कम्पोजर आदरणीय अम्बर गुरुङ र मेरोबीच भएका अनेकौं सांगीतिक चर्चाका प्रत्यक्ष सहभागी थिए । अम्बर गुरुङसित हामीले नयाँ राष्ट्रगानका विभिन्न मूडका बारेमा अनेकौं पटक छलफल गरेका थियौं । त्यसमध्ये ‘राष्ट्रियशोकका बखत बज्ने राष्ट्रगानको लय सामान्य मध्यम-लयभन्दा केही ढीलो र तालबाजाहरू बेगरै’ हुनु पर्ने विषय पनि प्रमुख हुने गर्थ्यो । अम्बर गुरुङको त्यस धारणालाई म उही हाम्रो समाजमा रहेको, मराउका बखत देखिने ‘मौनता’सित जोडेर हेर्ने गर्थेँ । जुन ‘मौनता’ मस्तिष्कको चंख पनभन्दा मनको भावुकतासित निकट रहेको मानवीय अन्तर-स्वभाव हो । सायद भनिरहनु पर्ने विषय होइन; संगीत हाम्रो भावनालाई अभिव्यक्त गर्ने सबैभन्दा सशक्त कला माध्यम हो । त्यसैले हामी शोकमा परेको बखत यो कलाको स्वरुप हाम्रो मनोभावभन्दा विपरित जान्छ र जानु पर्छ कसरी भनौं ? तर लोकतान्त्रिक नेपालको पहिलो राष्ट्रगानको धुन पहिलो पूर्व राष्ट्रप्रमुखको अन्यष्ठीमा बज्दै थियो तर सामान्य स्वरुपमा । मानौं हामी कुनै उत्सवकै मूडमा छौं झैँ ।

    यस्ता विषयमा देशको सँस्कृति थाम्ने जिम्मा लिएका निकायहरूले सोच्नु र विचार्नु पर्ने हो । तर हाम्रोमा पुरानो नेपालदेखि चल्दै आएको एउटा घतलाग्दो भनाई छ- ‘कल्चरको जिम्मा लिने हो भने एग्रिकल्चर पढ्न जानू ।’ भनाई छ मात्र होइन ! हामी यस भनाईको प्रयोगमा पनि खरो उत्रिएका छौं । विगतदेखि नै निरन्तर । खासमा हामी नयाँ भएको भ्रममा छौं । हाम्रो गुदी पुरानै छ । नत्र हामीले नयाँ नेपालका नयाँ बिम्बहरू निर्माण गर्दा झाराटार्ने पुरानै बाटो अप्नाउने थिएनौं । विश्वका कतिपय उन्नतशील राष्ट्रहरूमा राष्ट्रपहिचानका बिम्बहरूका बारेमा स्पष्ट नियमहरू छन् । झन् राष्ट्रधुनका बारेमा त कुन समारोहमा कस्तो अर्केष्ट्रेसन र संयोजन हुनुपर्छ, त्यसको लय र गतिले कति समयावधि लिनु पर्छ ? समेत स्पष्ट खुलाएर राष्ट्रिय नीति नै बनेका हुन्छन् । कतिपय देशमा त निस्चित अवस्था बाहेक तिनको प्रयोग नगर्ने नागरिक चेतनाको पनि विकाश भइसकेको छ । तर हाम्रोमा त जिम्मेवारहरूको चेतजस्तै नागरिकचेत पनि कम उदेक लाग्दो छैन । हामी नयाँ राष्ट्रका नयाँ बिम्बहरूलाई अति माया गर्छौं तर चेत नै गुम हुने गरी । आफ्नो मोबाइल सेटमा राष्ट्रगानको धुन भरेर राष्ट्रभक्ति दार्शाउँछौं । यसो गर्दा त्यो धुन भोजनालयदेखि अनेकौं आलयसम्म घन्कन्छ । भन्ने के ? भन्ने कस्लाई ? हामीले यसोगर्दा धुनको मान गरेका छौं या अपमान ? हामी अचेत छौं । राष्ट्रगान भनेको बनभोज र विवाह भोजमा बज्ने दोहोरी र डिस्को जस्तो मनोरञ्जनका खारित सिर्जना भएको होइन । यो त आफ्नो देशसित सम्बन्धित संसारभरिका समारोहमा प्रतिनिधित्व गर्ने देशको मुख्य ध्वनी हो । भनौं न; हस्ताक्षर हो । यति सामान्य कुराबाट समेत बिमूख हाम्रो अवस्था छ । म भने; गिरिजाबाबु (जस्ले आधीकारिक समारोहका बीच चारवटा भिन्दाभिन्दै धुन सुनेर अहिलेको राष्ट्रधुन छान्नमा निर्णायक अभिव्यक्ति समेत दिएका हुन् ।) संसारबाट बिदा हुँदा त्यो धुनको लय, गति र भावको गहिराईलाई वास्ता गरिएन भनेर गुनासो गरिरहेछु ।

    हाम्रो समाजले संवेदनशीलता र भावुकताको जिम्मा कवि, कलाकारलाई दिएको अभिव्यक्ति यदाकदा सुन्छु । हो पनि हामी कलाकार त भावुकताका दास नै हौं । अझ भनौं, भक्त पो हौं । र त सुक्ष्म कुरालाई पनि केलाई बस्छौं । संवेदनशील बन्छौं । तर समाजको बागडोर सम्हाल्ने मुख्य पात्रहरू पनि भावुक हुनु पर्दैन र भनेको ? ‘नेताहरू संवेदनहीन भए भने तिनीहरू बीचबाटै तानाशाही शासक जन्मने सम्भावना हुन्छ ।’ कसैले कतै भनेको सम्झन्छु । गिरिजाबाबुको शवयात्राको दृश्य फेरि पकपल्ट सम्झन्छु । त्यहाँ घन्केका नारा पनि सम्झन्छु । सोच्छु- नाराबाट मुक्त हुने दिन पनि आउला । फेरि उनको शवसितै वाहनमा चढेका नेताहरू सम्झन्छु । तिनले हल्लाएका हात जो देखिएथे; ती सम्झन्छु । चुनावी अभियानमा जस्तै नहल्लाए हुन्थ्यो नि पनि भन्ठान्छु । आर्यघाटमा उपस्थित अनेकौं सार्वजनिक अनुहारहरू जो हाम्रो समाजका प्रतिनिधि मुहार हुन् । हेर्छु । भावुक नै देखिन सकेनन् । ठीकै छ । खित्किएर अट्टहास नै त ननिकाले हुने नि ! यस्तै के के सोच्दै म भने फेरि पनि हजुरबाकै भनाइमा रुमलिन पुग्छु- ‘सुन् केटा ! मरेपछि मान्छेले गल्ती गर्दैन र लाश देउतासमान नै हुन्छ । त्यसैले जसको लाश देखे पनि टक्क उभिनू र मौनतापूर्वक सम्मान गर्नू । अनि मृतक परिचित हो भने उसका असल कुरालाई मात्र सम्झँनू पनि ।’ भनाइको अन्तरभाव पूरै मनन गर्छु र मौनधारणको अवस्थामा झैँ एकतमासले घोत्लिन्छु ।

    « Previous Entries

    नेपाली समय-Nepal Time

      प्रचार प्रसार

      Advert

      Advert

      Advert

      Advert

      Advert